​वर्षमान पुनमाथि गोली प्रहार, प्रहरीले गर्‍यो जवाफी फायरिङ

नेकपा (माओवादी केन्द्र) का नेता एवम् वाम गठबन्धनको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन (अनन्त) माथि गोली प्रहार गरिएको छ । उनलाई लक्षित गरेपनि गोली भने नलागेको बताइएको छ ।

दुईखोली गाउँपालिका–६ वागमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा आइतबार बिहान ११ बजेर २५ मिनेट जाँदा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ । नजिकैको जंगलबाट अज्ञात व्यक्तिले पेस्तोलबाट गोली हानेको प्रहरीको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका पुन चढेको बा १५ च ८६२८ नम्बरको गाडीलाई लक्षित गरी एक राउण्ड फायरिङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

राङ्सीको चुनावी सभापछि बागमारा तर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत पल्टाएर बाटो अवरोध गर्न खोजिएको थियो । चुनावी सभामा सहभागी हुनका लागि प्रतिनिधिसभाका उम्मेदवार अनन्त, प्रदेशसभा उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्ती, ईश्वरी घर्ती, कुमार दशौदी, एमालेका पोलिटब्यूरो सदस्य एवं सचेतक गोकुल घर्ती, एमाले जिल्ला अध्यक्ष हरीप्रसाद घर्ती साथमै थिए ।

सुकिदह गाउँपालिकाको चुनावी सभाबाट घर्तीगाउँ फर्कदै गर्दा शनिबार बिहान समेत भिताबाङमा एम्बुस विष्फोट गराइएको थियो । वाम गठबन्धका उम्मेदवारले घटनालाई अपराधिक कार्यको संज्ञा दिएका छन् ।
एम्बुस विष्फोट र पेस्तोल पड्काइएको बारे अझसम्म कसैले जिम्मेवारी भने लिएको छैन ।

पुरानो समाचार खोज्नुहोस्