प्रदेश नं १ मा मतगणना सम्पन्न दुवै सिटमा एमालेका उम्मेदवार विजयी

राष्ट्रियसभा सदस्यका दुई सिटका लागि प्रदेश नं १ मा हिजो भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । दुवै सिटमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अल्पसंख्यकमा एमालेका अगमप्रसाद बान्तवा र दलितमा खेम नेपाली विजयी हुनु भएको छ । बान्तवाले ६ हजार १ सय ३८ मत ल्याउनुभयो भने नेपाली काँग्रेसका महेश जाजुले २ हजार ८ सय ९८ मत ल्याउनु भएको छ ।

दलित सिटमा एमालेका नेपालीले ६ हजार २ सय ७२ मत ल्याउनु भयो भने नेपाली काँग्रेसका विन विश्वकर्माले २ हजार ८ सय ३२ मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो ।

प्रदेश नं. १ को खुल्ला र महिला सिटका ३/३ जना यसअघि नै निर्वारोध निर्वाचित भएका थिए । खुल्लामा पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, उमेशजंग रायमाझी र महिलामा नैनकला ओझा, विना पोखरेल र सिरता प्रसाई निर्वारोध भएका थिए । राष्ट्रिसभा निर्वाचनमा स्थानीय तहको मतभार १८ थियो भने प्रदेशससभा सदस्यको ४८ रहेको थियो ।

मतदानमा ९९.४५ प्रतिशत मतदान भएको थियो । विहान १० वजेदेखि शुरु भएर दिउँसो ३ वजे सम्पन्न मतदानमा ३ सय ६६ मतदाता मध्ये ३ सय ६४ जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्य तर्फ ९३ मध्ये ९२ जना र स्थानीय तह तर्फ २ सय ७३ मध्ये २ सय ७२ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश तर्फ विष्णु तुम्वाहाम्फे र स्थानीय तहतर्फ मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी सावाँ मतदानमा सहभागि भएनन् ।

विष्णु तुम्वाहाम्फे संघिय लिम्वुवान राष्ट्रिय मञ्चका तर्फबाट समानुपातिक सांसद हुन भने रुद्रकुमारी साँवा नेपाली काँग्रेसका तर्फबाट मिक्वाखोलाको उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

पुरानो समाचार खोज्नुहोस्