किम र ट्रम्पबीच वार्ताको मिति र समय टुङ्गो लाग्यो , वार्ता निर्णायक बनाउन चीन सक्रिय

वाशिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जङ उनबीच बहुप्रतिक्षित वार्ताको मिति र समय तय भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो कुराको खुलासा गरेका हुन ।

यद्यपी ट्रम्पले वार्ता कहाँ र कुन मितिमा हुने भन्ने बारेमा भने बताएनन् । “हामी उत्तर कोरियासँग बिस्तृत वार्ता गर्न गइरहेका छौं ।” ट्रम्पको भनाई उद्दृत गर्दै विविसीले जनाएको छ, “र, यी वार्तापूर्व उत्तर कोरियामा बन्दी बनाइएका अमेरिकी नागरिकको बारेमा केही प्रगति पनि भएको छ । तपाईहरु छिट्टै केही राम्रो समाचार सुन्नुहुनेछ । हामीबीच भेटघातको दिन र समय तय भइसकेको छ । हामी छिट्टै यसको घोषणा गर्नेछौं ।”

उत्तर कोरियामा बन्दी बनाइएका तीन जना अमेरिकी नागरिकको रिहाईको विषय समेत यो वार्तासँग जोडिएको छ । वार्ता पूर्व नै दुबै कोरियाबीच ऐतिहासिक वार्ता सम्पन्न भइसकेको छ । यता चीनले समेत यो वार्तालाई निर्णायक बनाउन र अमेरिकी प्रभाव हावी हुन नदिन विशेष कसरत गरेको देखिन्छ ।

दुबै पक्ष वार्ताका लागि निकै सकारात्मक देखिएपनि बाहिर प्रचार गरेजस्तो दुबै पक्ष ढुक्क हुने अवस्था भने छैन । अहिले पनि अमेरिकी सेना कोरियाली प्रायद्विपमा छन् ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसमक्ष बोल्दै आफ्ना सेना हटाउने बारेमा भने कुनै सोच नभएको स्पष्ट पारेका छन् । “अहँ, हामी यस्तो गर्दैनौं ।” पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भनेका छन, “यो वार्तासँग सेनाको उपस्थितिको कुनै सम्बन्ध रहन्न ।”

सम्भवतः रुस र अमेरिकाबीचको शीतयुद्धपछि अमेरिका र उत्तर कोरियाबीचको तनाव सबैभन्दा रोचक मुद्दा बनेको छ । दुबै पक्षले आफ्नो रणनीतिक रक्षाको महत्वपूर्ण कुटनीतिक प्रयास जारी राखेका छन् ।

उत्तर कोरियाले निकै चतुराई प्रस्तुत गर्दै हिजोको दुश्मन मानिएको र अमेरिकाको प्रमुख सहयोगी दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने महत्वपूर्ण कोशीस गरेको छ ।

हालै मात्रै दुबै देशको उच्चतम राजनीतिक नेतृत्वबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । उत्तर र दक्षिण कोरियाबीचको साझा भौगौलिक र सांस्कृतिक मनोविज्ञान बलियो बनेको छ । यसबाट अमेरिकालाई निकै ठूलो दबाब परेको विश्लेषण समेत कतिपयले गरेका छन् ।

यतिसम्म कि दुबै कोरियाबीच समय क्षेत्र समेत एउटै निर्धारण गरिएको छ । यसअघि दुबै देशबीचको समयमा आधा घण्टाको फरक रहेको थियो ।

यो भन्दा अगाडि उत्तर कोरियाका राष्ट्रपति किम चीन पुगेका थिए । चीन र दक्षिण कोरियासँग सुमुधुर सम्बन्ध बनाउने कुटनीतिक प्रयासले उत्तर कोरियलो वार्तामा आफ्नो पक्षमा अडान लिन सहज भएको देखिन्छ । यद्यपी आणविक निशस्त्रीकरणको विषय त्यति सजिलो भने पक्कै होइन । तर यो वार्ताले विश्व राजनीतिक शक्ति संघर्षमा उत्तर कोरियाको उपस्थिति निकै बलियो देखिएको छ ।

संसारबाट अलगथलग भएर आफ्नै मोडेलको समाजवादी शासन सञ्चालन गरिरहेको उत्तर कोरियाले आफू शक्तिशाली हुन सके आफ्ना शत्रुहरुसँग बार्गेनिङ गर्न सकिन्छ भन्ने रणनीतिलाई कुशलतापूर्वक प्रयोग गरेको देखिन्छ ।

केही महिना अघिमात्रै एकपछि अर्को आणविक अस्त्रको परीक्षण गर्दै उत्तर कोरियाले आफूमाथि आक्रमण भए सोझै अमेरिकामा प्रहार गर्ने चेतावनी दिएपछि वार्ताको वातावरण बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्