आँधीहुरीले छाना उडायो, स्थानीयबासी अन्धकारमा

खजुरा । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहुँदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन्।

एक हप्ता अघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन्।

विद्युत् कार्यालयले सुस्तगतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन्।

अत्यधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ। विद्युत् कार्यालयले मुख्य सडकका पोल गाडिसकिएको र गाउँभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ।

आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा बढी क्षति पुर्याएको छ। आँधी हुरीले वडा नं ५ गोहनाका १२ वर्षीया गीता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाइते भएकी छन्। उनको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

गाउँपालिकाको दुईवटै वडामा टिन, टायल र फाइबरले छाएको करीब ७० जनाको घरको छाना उडाएको छ भने एक दर्जनभन्दा बढी रुख ढलेका छन्। हुरीले छाना उडाएपछि नागरिकलाई तत्काल बस्न समेत समस्या भएको छ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले क्षतिबारेमा तथ्यांक संकलन भइरहेको भन्दै राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए। रासस

पुरानो समाचार खोज्नुहोस्