म तस्करीमा संलग्न छैन, गोरेले मलाई धम्काउँथे : एसएसपी श्याम खत्री

सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी एसएसपी श्यामबहादुर खत्रीले मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’ले आफूलाई सरुवा गर्दिने भन्दै धम्क्याउने गरेको बयान दिएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा दिएको ८ पेज लामो बयानमा आफू सुन तस्करीमा संलग्न नरहेको पनि दाबी गरेका छन् । उनले आफूलाई आफ्नै ब्याचीहरुले बढुवाबाट रोक्न षडयन्त्र गरेको बयान दिएका छन् ।

एसएसपी खत्रीले अघिल्लो पटक पक्राउ पर्दा समेत आफूलाई आफ्नै ब्याचीले फसाएको बयान काठमाडौं जिल्ला अदालतमा दिएका थिए ।
एसएसपी खत्रीले गोरे र अवकाशप्राप्त डिआइजी गोविन्द निरौलाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । उनले आफूले तस्करी रोक्न चाहेको तर डिआइजी र गोरेका कारण नसकेको बताएका छन् ।

‘डीआईजीको मान्छे भनेर गोरेले मलाई टेर्दैनथे, उल्टो मलाई हप्काउँथे सुनै भेटिएको छैन, केको तस्कर?,’ खत्रीले बयानका क्रममा भनेका छन् ‘एयरपोर्टबाट सुन तस्करी भएको कुरा मलाई थाहा छैन, मेरो संलग्नता पनि छैन मैले कमिसन लिएको कुरा पनि झुटो हो ।’

सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको सरकारी समितिले विमानस्थलमा कार्यरत रहँदा एसएसपी खत्रीले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेको यथेष्ट प्रमाण अदालतमा बुझाएको छ । गोरेले समेत बयानमा एसएसपी खत्रीको संलग्नता पुष्टि गरेका छन् ।

मोरङ प्रहरीले बैशाख १८ मा प्रतिवादी बनाएर मुद्दा बुझाएका एसएसपी श्याम खत्री बिहीबार बिहान मोरङ जिल्ला अदालत हाजिर भएका थिए । बिहान साढे १० बजे खत्रीका कानुनी सहयोगी अधिवक्ता हेमराज पन्तमार्फत उनी अदालत हाजिर भएका थिए । सुन तस्करीको अनुसन्धान गर्न बनेको टोलीले खत्रीलाई झिकाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेपिछ उनी फरार थिए।

वैशाख १८ गते जिल्ला प्रहरी कार्यालय मोरङले प्रतिवादी बनाएर एसएसपी खत्रीविरूद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले देशभर रहेका आफ्ना प्रहरी युनिट र अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा खत्रीको खोजी गरिरहेको थियो ।

२०७४ चैत १३ गतेदेखि २०७५ वैशाख १२ गतेसम्म विदामा बसेका एसएसपी श्यामबहादुर खत्री पक्राउ पर्ने त्रासले त्यसयता फरार भएका थिए । यसअघि पक्राउ परेको मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती गोरेले बयानमा आफू भन्दामाथि खत्री रहेको बताएका थिए ।

समितिले पछिल्ला ५ वर्षमा त्रिभुवन विमानस्थलबाट भएको ३८ सय किलो तस्करी भएको प्रतिवेदनमा उल्लेख गरेको छ । पछिल्लो पाँच वर्षमा खत्री विमानस्थलमा कार्यरत थिए । मोरङ जिल्ला अदालतले खत्रीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएसँगै खत्री जेल चलान भएका छन् ।

पुरानो समाचार खोज्नुहोस्