अभिनेता विपिन कार्कीको नया फिल्ममा ‘सरप्राइज्ड क्यारेक्टर’

नेपाली फिल्म क्षेत्रमा नायक बिपिन कार्कीले आफुलाई पुरै भिजाएर अभिनय गर्ने गर्दछन । उनको अहिले सम्मका चलचित्रहरु सबै उत्कृष्टनै भएको छ । बिपिनले सोचे जस्तै अभिनय गरेको फिल्म ‘हरि’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

विपिनको बारेमा धेरै भन्नै पर्दैन । आफ्नो चरित्रलाई प्राण दिन मरिहत्ते गर्ने उनी दुर्लभ अभिनेता हुन्, जसले एकपछि अर्को फिल्ममा ‘सरप्राइज्ड क्यारेक्टर’ पेश गरिरहेका छन् । ‘हरि’सम्म त्यो सिलसिला जारी छ ।

फिल्म ‘हरि’मा उनले जिजुबाजेदेखि पनातीसम्मको चार पुस्ते चरित्र निर्वाह गरेका छन् । सम्भवत यो उनको आफैमाथिको प्रयोग पनि हो । सुनिता श्रेष्ठ ठकुरी, कमलमणि नेपाल, थिन्ले ल्हमु आदि बाहेक फिल्मभरी देखिने पात्र ‘हरि’ नै हुन्, रामहरि, कृष्णहरि, शिवहरि, विष्णुहरि ।

कस्तो छ कथा ?

रामहरिका पनाती, कृष्णहरिका नाती, शिवहरिका छोरो, विष्णुहरि (विपिन कार्की) । उमेर, ३० बर्ष । धर्म, प्रणामी । पेशा, फाइनान्सका शाखा म्यानेजर ।

जड्याह पिताको अवसनपछि आमा (सुनिता श्रेष्ठ ठाकुर)ले विष्णुहरिलाई प्याज-लसुन, माछामासु, जाँडरक्सीबाट टाढै राखेकी छिन् ।

फिल्म- हरि

निर्देशक- सफल केसी, प्रतीक गुरुङ

कलाकार- विपिन कार्की, सुनिता ठाकुर, कमलमणि नेपाल, थिन्ले ल्हमु, लक्ष्मी वर्देवा

आज्ञाकारी छोरोको खास समस्या छैन, खुइलिदै गएको तालु सिवाय । मोटरसाइकलमा कार्यलय जान्छन्, काम गर्छन्, घर र्फकन्छन् । घरबाटै टिफन बोक्छन्, आमाको हातबाट बनेको । भगवानप्रति भक्तिभाव छ । बाटोमा भेटिने मन्दिरलाई ढोग्न छुटाउँदैनन् । नम्र छन्, सात्विक छन्, शान्त छन्, सोझा छन् । एवंरीतले जीवन चलेको छ, ठिकठाकसँग ।

तर, एकदिन कार्यलय गइरहेको बेला बाटोमा पंक्षीले विष्ट्याएपछि उनको जीवनमा गडबड सुरु हुन्छ । त्यही गडबडी एवं उथलपुथलसँगै कथाले बेग हान्छ ।

सोझा, शान्त, सात्विक ‘हरि’ कसरी तामासिक जीवनमा ओर्लन पुग्छन् ? चोरी र हत्याको घनचक्करमा कसरी फस्छन् ? एक घण्टा ४६ मिनेटको फिल्मले सतहमा यही कथा भन्छ । तर, यसको भित्री द्वन्द्व अर्कै छ ।

किने हेर्ने ?

‘हरि’ खासमा विपिन कार्कीको फिल्म हो । चार पुस्ते चरित्रलाई उनले कसरी प्राण दिएका छन् ? केलाउन सकिन्छ ।

पछिल्लो समय प्रदर्शित फिल्मको तुलनामा ‘हरि’ माझिएको फिल्म हो । यसको कलात्मक पक्ष घतलाग्दो छ । सेट डिजाइन, फ्रेमिङ, ध्वनि, द्वन्द्वदेखि कलरसम्म अर्थपूर्ण समायोजन गरिएको छ, जसमा निर्देशक सफल केसी र प्रतीक गुरुङको प्रत्यक्ष मेहनत देखिन्छ । र, उनीहरुले फिल्मलाई कर्मसियल भ्यालुमा जोड्ने भन्दा पनि फिल्मलाई फिल्म जस्तै बनाउने कसरत गरेका छन् । यो आफैमा चुनौती हो ।

विष्णुहरिको एकालापमा हर्ष-विस्मात जस्ता तत्वलाई थाहै नपाई घुसाईएको छ । यसका लागि न विष्णुहरिले मुख बङ्ग्याएका छन्, न गुण्डालाई धुलोपिठो पारेका छन् ।

विष्णुहरिको अन्तक्रिर्यात्मक कथावाचनसँगै अघि बढ्ने फिल्मले हासो र ठट्टाकै बीचमा जीवन-दर्शनका गहन प्रश्नहरु छेड्छ । ३० बर्षसम्म अविवाहित ‘हरि’, जसलाई समयक्रमले आफ्नो अस्तित्वमाथि औंला ठड्याउने अवस्थामा पुर्‍याउँछ । उनी सर्वाङ्ग हुन्छन् र आफैलाई सोध्छन्, ‘नाख मेरो, मुख मेरो । तर, ‘म’ को हो ?’

कार्यलय र घर भन्दा बाहिरको संसारमा घुलमिल नभएका विष्णुहरिका न साथी छन्, न सत्रु । झट्ट हेर्दा आफ्नै अफिसका सहयोगी आकाश (कमलमणि नेपाल) सँग उनको नोंकझोक देखिन्छ । तर, त्यो मूल द्वन्द्व होइन । मूल द्वन्द्व त उनी आफैभित्र छ ।

आफूभित्र दबिएको बासना, प्यास, मोह, आक्रोशले अन्ततः उसलाई भित्रभित्रै कसरी जलाइरहेको छ भन्ने कुराले कथामा उतार-चढाव ल्याउँछ । कल्पना, सपना, भ्रम आदिको भुलभुलैयामा रुमलिइरहेको जीवनमा केवल दुईवटा सत्य छन्, जन्म र मृत्यू । त्यसबीचमा जे-जति घटनाहरु घट्छन्, ती सबै क्षणिक र अचानक हुने कुरा हुन् । फिल्मको सार यत्ति हो ।

यो फिल्ममा केही प्रयोग गरिएका छन् । बुबाको ज्याकेट लगाएपछि विष्णुहरिमा आउने मानसिक परिवर्तन, आकाशको जुत्ताप्रतिको आशक्ति, बुबाको गाइने साथीको उपस्थिति रोचक मात्र छैन, अर्थपूर्ण पनि । कतिपय पृष्ठभूमिमा छायाँको प्रयोग पनि स्वादिलो छ ।

यसकारण जोखिम

निर्देशकद्वयले निर्धक्कसाथ आफ्नो परिकल्पनालाई पर्दामा उतार्ने जमार्को गरेका छन् । यसको कथा, प्रस्तुति, शैली, संवाद आयातीत होइन । यसमा आफ्नोपन अनुभूत गर्न सकिन्छ । फिल्म अर्काका लागि होइन, आफ्नै लागि बनाएका छन् । आफ्नै सन्तुष्टिका लागि ।

यतिबेला कमेडी जनराको फिल्ममा दर्शक झुम्मिएका छन् । भनौं, ‘फुल डोज’ मनोरञ्जन खोजिरहेका छन् । यस्तो अवस्थामा दर्शकलाई फरक टेष्टमा ‘मुड चेन्ज’ गर्नु सजिलो नहोला ।

फिल्म विष्णुहरिकै वरीपरी फनफनी घुमेको छ । यो फिल्म हेर्नका लागि एउटै पात्रलाई झेलिरहने धैर्यता चाहिन्छ । गीत, फाइट, लभ, रोमान्स जस्ता कुरा गौण छन् । यी तत्वहरुको अभावमा दर्शकलाई पट्यारलाग्न सक्छ ।

हरि एक प्रयोग हो । रेडिमेड फ्रेमभन्दा बाहिर छ । यसकारण पनि दर्शकलाई बाँधेर राख्न मुश्किल हुन्छ । मध्यान्तर अघिसम्म प्रसंग कता मोडिन्छ भन्ने कुराले कौतुहलता पैदा गरे पनि प्रस्तुतिले सहज रुपमा डोर्‍याउँदैन ।

आखिर जे भए पनि यो फिल्मबाट विपिनले आफ्नो कदलाई थप उचाई दिएका छन् । पाश्र्वध्वनि, सिनेम्याटोग्राफी र प्राविधिक पक्षमा कत्ति पनि खोट लगाउने ठाउँ छैन ।

पुरानो समाचार खोज्नुहोस्