विवाह गरेर भित्र्याएकी श्रीमतीको विवाह अर्कैसंग गराइदिने श्रीमान

मानिसहरु आजकल माया भने पछी जे पनि गर्न तयार हुने गर्छन । तर कसै कसैले मायाको लागि हद सम्म पार गर्ने गर्दछन । तपाइले कहिले सुन्नु भएको छ कि कसैले आफुले बिहे गरेर ल्याएको श्रीमतीलाई अरुलाई नै सुम्पिएको भनेर ?

यस्तै रोचक घटना भारतको कानपुरमा भएको छ । जसमा एक युवकले तीन महिनाअघि विवाह गरेर भित्र्याएकी श्रीमतीको विवाह अर्कैसंग गराइदिएका छन् ।

चकेरी प्रहरी चौकी नजिकैको सानीगाउँका गोलु भनिने सुजित नामका ती युवाले आफ्नी श्रीमती शान्तीको विवाह उनको प्रेमी रविसँग गराइदिएका छन् ।

सानीगाउँका सुजितले श्यामनगरकी शान्तीसँग गत फेब्रुअरी १९ मा विवाह गरेका थिए । उक्त विवाह स्थानीय परम्पराअनुसार नै भएको थियो ।
विवाहको पन्ध्र दिन जति पछि शान्तीले घरबाट माइती गइन् तर धेरै दिनसम्म पनि फर्केर आइनन् । त्यसपछि सुजित उनलाई लिन शान्तीको माइती गए र धेरै दिनसम्म किन नफर्केको भनेर सोधे ।

सुरुमा त उनले सुजितको प्रश्नलाई टारिदिइन् । तर सुजितले कर गरेपछि उनले रुँदै लखनउको एक युवकलाई प्रेम गर्ने र सुजितसँग इच्छाविपरीत घरपरिवारको करले विवाह गरेको बताइन् ।

यो कुरा थाहा पाएपछि सुजित सुरुमा त अलि रिसाए । तर, पछि शान्तीसँग उनको प्रेमीसँग विवाह गराइदिने वाचा गरे र उनका सासु ससुरालाई पनि सम्झाए ।

त्यसपछि उनले रविसँग भेटेर सबै कुरा बताए । रविले पनि उनी र शान्ती प्रेमसम्बन्धमा रहेको कुरा बताए । त्यसपछि सुजितले शान्ती र रविको विवाह गराइदिने योजना बनाएर स्थानीय प्रहरीलाई पनि यो कुराको खबर दिए ।

बुधबार उनीहरु सानिगाउँ क्षेत्रको हनुमान मन्दिरमा जम्मा भए र सुजितले शान्तीको हात रविलाई सुम्पिदिए । विवाह हेर्न धेरै सङ्ख्यामा पाहुनाहरु आएका थिए ।

सुजित भन्छन्, ‘सुरुमा मेरो मनमा नकारात्मक विचारहरु आयो । मैलै दुवैलाई सिध्याइदिने पनि सोचेँ तर मैले यस्तो गरेँ भने हामी तीन जनाकै जीवन बर्बाद हुन सक्छ भन्ने सोचेँ ।’ ‘हामीले परिवारका सदस्यहरुसँग सल्लाह गर्‍यौं र म हामी सबै खुसी हुन सक्छौं भन्ने निश्कर्षमा पुगें’ सुजितले भने ।

सानीगाउँका स्थानीयहरुले सुजितसँग सबैले पाठ सिक्नुपर्ने बताए । एक स्थानीयले भने, ‘उनले धेरै असल काम गरेका छन् । यस्तो घटना धेरै कम मात्रै हुने र गाँउमा त झनै कम हुन्छ ।’ ‘सुजितको काम धेरै राम्रो र प्रशंसनीय छ । हामीले उनलाई कहिल्यैपनि भुल्ने छैनौं’ सानीगाउँको प्रहरी पोस्टमा कार्यरत एक प्रहरीले भने ।

पुरानो समाचार खोज्नुहोस्