आन्तरिक बजेटमार्फत हाकु गाउँमा बाटो निर्माण शुरु

१९ जेठ, मोरङ

सदरमुकामको हाकु गाउँमा मोटर बाटो निर्माण शुरु भएको छ । हाकु क्षेत्रमा सडक निर्माण गर्न सहज वातावरण भएकाले आफ्नो आन्तरिक बजेटमार्फत शुक्रबारदेखि सडक निर्माण अगाडि बढाइएको आमाछोदिङमो गाउँपालिकाले जनाएको छ ।

गापा अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुबेँसीदेखि ठूलो हाकुसम्म सडकको दूरी १० किमी रहेको र निर्माण सम्पन्न गर्न करीब रु एक करोड लाग्ने अनुमान गरिएको छ । सदरमुकामबाट पाँच घण्टामा हाकु पुग्न सकिने क्षेत्र भए पनि भौगोलिक विकटताले गर्दा दूरदराजकै रुपमा रहेको हाकु क्षेत्रमा अब सडक निर्माणसँगै गाउँको मुहार फेरिने समाजसेवी कार्साङ तेम्पा तामाङले बताए ।

खच्चर तथा मानिसद्वारा खाद्य सामग्री ढुवानी गरी आएकामा अबको एक वर्षभित्र मोटरबाटो सम्पन्न हुने अपेक्षा गरिएको स्थानीयवासीले बताए । हाकुमा मोटरबाटो तयार भए पनि त्रिशूली नदीमा पुलको आवश्यक पर्ने छ । सो पुल अपर त्रिशूली १(२१६ मेगावाट जलविद्युत् आयोजना)ले निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।

यस्तै ग्रेगाउँ हुँदै नेसिङ –हाकुसम्मको सडक धमाधम निर्माण भइरहेको गापा अध्यक्ष बुचुङले बताए । जिल्लाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ र आमाछोदिङमो गापाको हाकुबाहेक प्रायः सबै वडामा सडक सञ्जालले छोएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए ।

रसुवामा २७ वटा वडा रहेका छन् । हाकु क्षेत्रमा मोटरबाटाको शुरुआत भए पनि लाङटाङ क्षेत्र पर्यटकीय पदयात्रा भएका कारण उक्त क्षेत्रको कुन स्थानसम्म मोटर बाटो लाने भन्ने सम्बन्धमा स्थानीय तह र लाङटाङवासीसँग छलफल भइरहेको प्रमुख भट्ट जानकारी दिए । अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्