काँग्रेस प्रवक्ता शर्मा भन्छन् : प्रतिपक्षको भुमिका काँग्रेसका लागि सच्चिने मौका हो

१९ जेठ । नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रतिपक्षको भुमिका काँग्रेसका लागी सच्चिने सुनौलो अवसर भएको बताएका छन् । नेपाल शिक्षक संघको २९ औँ प्रतिनिधि सभालाई सम्बोधन गर्दै शर्माले प्रतिपक्षमा बसेर बिग्रेको काँग्रेस सुधार्न अहिले नै सबैभन्दा राम्रो अवसर रहेको बताए ।

लोकप्रियताको लागी कम्युनिष्टहरुले नारा मात्रै बेच्ने गरेको भन्दै शर्माले उनीहरुको नारा लगाउनु र काम गर्नुको अन्तर अब थाहा हुने बताए ।

मदन भण्डारीको जनताको बहुदलिय जनवाद आत्मसाथ गरेको एमालेले मदन भण्डारी मरेको २५ वर्षपछि उनको विचारलाई समेत मारेको आरोप लगाए । ‘भौतिक रुपमा मदन भण्डारी मरेको २५ वर्षमै जेठ ३ गते पार्टी एकिकरणका नाममा मदन भण्डारीको विचारलाई समेत मार्‍यो’ शर्माले भने, ‘कम्युनिष्टहरु आफ्नै कामका कारणले चाँडै पतन हुन्छन् ।’

एकपटक चुनाव हार्दैमा नआत्तिन काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गर्दै शर्माले भने, ‘पात झर्दैमा रुख सुक्दैन नआत्तिनुस् ।’ अहिले कम्युनिष्टको आँधीहुरी आएको भन्दै शर्माले केहि हाँगा भाँच्चिदैमा काँग्रेस नमर्ने बताए । काँगे्रस कार्यकर्ताहरुलाई रुखको जरा बनेर अडिग रहन उनले आग्रह गरे ।

प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै शर्माले कम्युनिष्टहरुलाई काँग्रेसले विभिन्न समयमा सेरलेक्स खुवाएको र अहिले हुर्किएको बताए । ‘म पनि झापाकै हुँ शर्माले भने झापामा उखानको बोट कहाँ छ मलाइ नि थाहा छ’ उनले भने ।

पुरानो समाचार खोज्नुहोस्