बजेटमा असन्तुष्टि

आर्थिक वर्ष २०७५ /०७६ का लागि विनियोजित बजेट माथि प्रतिनिधिसभा बैठकमा आइतबार पनि छलफल जारी छ।
बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सांसद बिजयकुमार गच्छदाले मुलुकको आर्थिक बिकासमा ठोस कार्यक्रम सहितको बजेट आउन नसकेको बताए।

उनले प्रतिव्यक्ति आम्दानी ५ वर्षमा दोब्बर पार्ने लगायत कयौं राम्रा संकल्प आएपनि ठोस कार्यक्रम नभएकाले कार्यान्वयन हुनेमा शंका व्यक्त गरे। धेरै संभावनाको बाटो कोरे पनि कार्यान्वयनमा द्विविधा रहेको भन्दै उनले कार्यक्रम किटान गरेर बजेट ल्याउन नसकिएको टिप्पणी गरे। राजश्वको वृद्धि गर्ने गरी करमा ठूलो परिर्वतन ल्याउने प्रयास बजेटमा भएकाले त्यसले लगानी रोकिने र मूल्यवृद्धि गराउने तर्क उनले गरे।

स्वर्गीय नेता विपी कोइरालाले बजेट बनाउँदा फाटेको दौरा सुरुवाल, च्यातिएको टोपी र हलो जोतेको किसानलाई केन्द्रित भएर बजेट बनाउनु भन्ने गरेको स्मरण गर्दै उनले २०१६ सालको बजेट निकै क्रान्तिकारी भएको दाबी गरे।

तात्कालीन नेपाली कांग्रेसको सरकारले लिएको उदार अर्थनीति तथा संञ्चार, कृषि, शिक्षा, स्वास्थ्य र औद्योगिकरणमा लिएको क्रान्तिकारी नीतिले अहिले ती क्षेत्रमा ठूलो परिर्वतन आएको बताए। तर परिर्वतित राजनीतिक परिवेशमा वर्तमान सरकारले ल्याएको बजेटमा यथार्थ वस्तुस्थितिको अध्ययन नगरिएको तथा क्रान्तिकारी कार्यक्रम समावेश हुन नसकेको बताए।

सांसद प्रभु साहले विकास निर्माणको सवालमा बजेटमा धेरै अमूर्त विषय आएको भन्दै शिर्षकको बाँडफाँड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए। बजेट निर्माण र विधिमा आम जनताको सहभागीताको मोडालिटीलाई आत्मसाथ गर्नुपर्ने उनले उल्लेख गरे। उनले बजेट पारदर्शी नभएको दाबी गर्दै उनले सरकारले बजेट विनियोजनका लागि बनाएको मापदण्ड अनुसार बजेट विनियोजन हुन नसकेको दाबी गरे।

ग्रामीण क्षेत्रका लागि जनता आवास कार्यक्रम र शहरी क्षेत्रमा प्रधानममन्त्री आवास कार्यक्रममा विनियोजित बजेट स्पष्ट हुन नसकेको दाबी उनले गरे। उनले सीमित २/४ जना कोठामा बसेर बजेट तर्जुमा गरेर सिंगो देश निर्माण हुन नसक्ने तर्क गरे। लक्ष्य राम्रो राखे पनि त्यसलाई पूरा गर्ने बाटो स्पष्ट नभएको भन्दै उनले विभेदलाई अझै बढाउने ढंगले बजेट आएको तर्क गरे।

सांसद राजकिशोर यादवले जनताको मत पाएर जितेर आएका जनप्रतिनिधि संसदमा रुनुपर्र्ने स्थिति श्रृजना हुनु दुखद भएको भन्दै आगामी दिनमा त्यसो नहोस् भनी ध्यानाकर्षण गराए। बाल्यकालमा हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै भन्ने विज्ञापन सुनेको प्रसंग उल्लेख गर्दै उनले सम्वृद्ध नेपाल सुखी नेपाल र बजेटको तालमेल पनि हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै भएको बताए।

संघीय संरचनालाई आत्मसाथ गर्न नसकिएको उल्लेख गर्दै उनले बजेट कुन सिद्धान्त अनुसार विनियोजन गरिएको? भनी अर्थमन्त्रीसँग प्रश्न गरे। संघीय संरचनामा मुलुक पुगेपछि बजेटको संरचनामा आमुल परिर्वतन ल्याउनुपर्ने बताए। कृषिको बजेट घटाइएको, निजगढ विमानस्थल निर्माणका लागि छुट्याइएको बजेट कमी भएको भन्दै उनले समग्र बजेट विनियोजन हेर्दा संघीयतालाई समाप्त पार्ने गरी षडयन्त्र पूर्वक बजेट ल्याइएको त होइन भन्ने शंका उब्जाएको दाबी गरे।

सांसद राजेन्द्र लिङदेनले सम्वद्ध नेपालका लागि छलाङ मार्ने बताउदै आएको दुई तिहाई प्राप्त सरकारको बजेट परम्परा भन्दा माथि उठ्न नसकेको टिप्पणी गरे। ५ वर्षमा ५ लाखलाई रोजगारी दिने, विदेशमा रहेकालाई फिर्ता ल्याउनेलगायत कार्यक्रम पूरा हुने आधार बजेटमा नदेखिएको बताए।

मधेस र कर्णालीलाई राज्यको मुल प्रवाहमा ल्याउने समय सिमा निर्धारण बजेटमा नभएको भन्दै उनले बजेट तर्जुमा लगायतमा सांसदको भूमिका गौण राखिएकोमा गुनासो गरे। सांसदहरु बैठकमा बोलेर मुर्ख बनिरहेको भन्दै उनले सांसदहरुले अपमानित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए।

पुरानो समाचार खोज्नुहोस्