प्रधानमन्त्री ओली अब चीनको पाँचदिने राजकीय भ्रमण गर्ने

प्रधानमन्त्री केपी ओलीले आमामी असारमा उत्तरी छिमेकी चीनको राजकीय भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले असार पाँचदेखि चीनको पाँचदिने राजकीय भ्रमण गर्ने भएका हुन्। प्रधानमन्त्रीको चीन भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक नभएपनि असार पाँचदेखि नै चीनको राजीकीय भ्रमण हुने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणकालागि परराष्ट्र मन्त्रालयले तयारी तीव्र पारेको छ। परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबीच छलफल गर्ने, एजेण्डा तय गर्ने तथा एजेण्डाको सर्ट लिस्टिङ गर्ने काम भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको वैशाख पहिलो सातामा भएको बेइजिङ भ्रमणकै बेला प्रधानमन्त्रीको भ्रमणको विषय टुंगो लागेको थियो। मिति तय हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले नै संसद्मा सम्बोधनका क्रममा केही दिनअघि एक महिनाभित्र चीन भ्रमण हुने बताइसकेका थिए।
नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई पनि भ्रमणमा प्राथमिकता दिने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले चीनसँग रेलमार्गको विषयलाई जोड दिँदै आएका छन्। प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्मको रेलमार्गका लागि प्रस्ताव गर्ने तयारी गरेका छन्।

चिनियाँ नाका नजिक सुक्खा बन्दरगाह निर्माण, तातोपानीमा निर्माणाधीन बन्दरगाहलाई ठूलो बनाउने र रसुवागढीको टिमुरे तथा कोरला जोड्ने नाकामा बन्दरगाह निर्माणलगायत विषयलाई पनि छलफलमा राख्ने गरी तयारी गरिरहेको छ। चीनले नेपालसमक्ष त्रिदेशीय अवधारणाको प्रस्तावअनुसार रेल र सडकमार्ग निर्माणका लागि बेल्ट एन्ड रोड इनिसियटिभ्स बीआरआई को अवधारणामा सहयोग माग गर्दै आएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा चीनसँगको सम्बन्धमा व्यापकता दिँदै ‘प्रो चाइनिज लिडर’को छवि बनाउन सफल भएका थिए ।

८ देखि ११ अप्रिलसम्म चीनको हैनान प्रान्तको बोआओमा आयोजना भएको बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा भने यसपटक नेपालले अवसर गुमाएको थियो । अघिल्ला कार्यकालमा सरकार प्रमुखले सहभागिता जनाउने उक्त फोरमको समयमा प्रधानमन्त्री ओली भारत भ्रमणमा निस्किएका थिए । प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो विदेश भ्रमण हुनेछ।

पुरानो समाचार खोज्नुहोस्