ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा २५ जनाको मृत्यु

ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ। ज्वालामुखीमा परी अन्य सयौं घाइते भएका छन्। राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको फ्युगो ज्वालामुखी विष्फोट भएको हो।

उक्त ज्वालामुखी भएको नजिकै इल रोडियो गाँउ रहेको छ। ज्वालामुखी विष्फोटपछि आकाशमा कालो धुँवा, धुलो र खरानी देखिएको बीबीसीले जनाएको छ।

बीबीसीले ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सीलाई उद्धृत गर्दै ज्वालामुखीका कारण इल रोडियो गाँउमा रहेको घरहरु नष्ट भएको र मानिसहरु घरभित्रै जलेको उल्लेख गरेको छ। ज्वालामुखीबाट झण्डै १७ लाख मानिस प्रभावित भएको जनाइएको छ।

आकाशमा देखिएको खरानीका कारण ग्वाटेमालामा शहरमा रहेको ल अउरोरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि बन्द गरिएको छ भने मानिसहरुलाई सुरक्षित स्थानतर्फ लैजाने कार्य भइरहेको त्यहाँको सरकारले जनाएको छ।

ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरल्स्ले जनाएअनुसार आपतकालिन उद्धार तथा खोज कार्य सुरु गरिएको छ। उक्त ज्वालामुखी विष्फोट सन् १९७४ यताकै ठूलो रहेको त्यहाँको स्थानीय विशेषज्ञहरुले जनाएको छ।

पुरानो समाचार खोज्नुहोस्