दक्षिण एशियाको दोस्रो लामो चाँदनी-दोधारा झोलुंगे पुल चुँडिदै

२२ जेठ, कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुँडिएका छन् ।

महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताए । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको सिजालीले बताए । पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन् ।

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायले बताए । उनले भने, ‘पुल कति बेला टुट्ने हो भन्ने थाहा छैन । कुन दिन भाँचिन्छ भन्ने पिरलो छ।’

महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उनको भनाइ छ । ‘कति बेला दुर्घटना हुन्छ, कस्को ज्यान लिने गरी पुल भाँच्चिने हो कुन्नि थाहा छैन,’ उपाध्यायले भने ।

पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् ।

महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस (हालको महाकाली नगरपालिका) का स्थानीयबासी १३ वर्ष अघि सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे । भीमदत्त नगरपालिकाको वडा नं १३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा विसं २०६१ मा नौ करोड ४२ लाख बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए । पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ ।

‘महाकालीमा पक्की पुल निर्माण नहुञ्जेल हामीले झोलुंगे पुलको संरक्षण गर्न आवश्यक छ,’ स्थानीय गगन सिंहले भने । सम्बन्धित निकायको चरम लापर्बाहीका कारण दक्षिण एशियाको दोस्रो लामो झोलुंगे पुल मर्मतको अभावमा चुँडिने अवस्थामा पुगेको उनको भनाइ रहेको छ ।

सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ । दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन् ।

पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ ।रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्