जिल्ला मै पहिलो पटक हारियाली सामुदायिकले गर्यो सार्वजनिक सुनुवाई

 

पथरी । मोरङको पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । अहिलेसम्म स्थानीय तह र अन्य सरकारी निकायले मात्र गर्ने गरेको सार्वजनिक सुनुवाई हरियालीले जिल्ला मै पहिलो पटक शनिबार उपभोक्ता र सरोकारवालाबीच सम्पन्न गरेको हो ।

अन्य सामुदायिक वनहरुमा भएको अनियमितताका समाचारहरु बाहिर आइरहेका बेला हरियालीले ‘सुशासनको शुनिश्चितताका लागि, सार्वजनिक सुनुवाई’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरेर उदाहरणीय कार्य गरेको छ । सार्वजनिक सुनुवाईले चालु आर्थिक वर्षका कार्यक्रमको समिक्षा हुनुका साथै आगामी आ.व.को वार्षिक कार्ययोजना तयार गर्न मद्दत पुगेको अध्यक्ष काबुलबहादुर मगरले बताए । ‘हामीले पश्चिम नेपाल र सिक्कीमतिर भ्रमण गर्दा थाहा पायौं कि वनबाट रुख काटेर मात्र आम्दानी हुने रहेनछ’– अध्यक्ष मगरले भने ‘पर्यटकीय स्थल बनाएमा दिगो आम्दानी हुने रहेछ ।’ त्यसबाट आएको आम्दानीले वन सम्बर्धनका साथै विकास निर्माण समेत गर्न सकिने उनले दावी गरे । हरियालीले पथरीशनिश्चरेकै नमूनाको रुपमा सुविधा सम्पन्न सामुदायिक हल निर्माण गरिरहेको जानकारी गराउँदै मगरले उक्त भवन निर्माणमा नगरपालिकाले समेत सहयोग गर्नुपर्ने धारणा राखे ।

समूहको कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले हरियालीले सार्वजनिक सुनुवाई कार्यक्रम गरे उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गरे । ‘सबै सामाजिक संघसंस्थाहरुले यसरी नै सामाजिक लेखा परीक्षण गरिदिने हो भनें त्यो भन्दा उत्कृष्टता अरु केही हुँदैन’– नगर प्रमुख राईले भने ‘यस्तो उदाहरणीय कामको थालनी हरियालीबाट भएको छ । यस्तो कार्यक्रमको निरन्तरता दिन म आग्रह गर्दछु ।’ उनले आगामी दिनमा विकास निर्माणमा सामुदायिक वनसंग सहकार्य गर्ने समेत प्रतिबद्धता जनाए ।
यसैगरी, पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन पौडेलले अन्य संस्थाहरुले यस किसिमको सार्वजनीक सुनुवाई कार्यक्रम नगरेको भन्दै हरियालीले त्यो कामको सुरुवात गरेकोमा धन्यवाद दिए । क्याम्पस प्रमुख पौडेलले वन समूहले काम्पस स्थापना कालदेखि निरन्तर काठ सहयोग गरेको भन्दै प्रसंसा समेत गरे ।

सो अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मोरङ सचिवालय सदस्य एवं स्थानीय नगर महासंघ पथरीशनिश्चरेका अध्यक्ष रविन्द्रकुमार राईले समूहहरुले शुसासनको पाटोमा ध्यान दिन आग्रह गरे । उनले द्वन्द्वकालमा स्थानीय जनप्रतिनिधि नभएको अवस्थामा पनि १७ वटा मन्त्रालयले गर्ने काम सामुदायिक वनले गरेको स्मरण गर्दै अबका दिनमा स्थानीय सरकारले पनि सहकार्य गरे धेरै विकासे योजनाहरु सफल हुने धारणा राखे । हरियालीले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी जिल्लाभरीका सामुदायिक वनलाई उछिनेको बताए । ‘हरियालीले सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी गरेर प्रसंसनीय कार्य गरेको छ, यसले अन्य समूहलाई समेत सिकाई भएको छ’– अध्यक्ष राईले भने ।

 

कार्यक्रममा जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत इन्द्रदेव राउत, जनता माध्यमिक विद्यालयका शिक्षक, शिव पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्षलगायतले मन्तव्य राखेका थिए । उपभोक्ताहरु चिरञ्जिवी गौतम, रामकुमारी राई, सत्यकुमार राई, धनप्रसाद साँवा, उत्तमकुमार तामाङ, लीला बस्नेतलगायतले समूहको बारेमा जिज्ञासा तथा सुझाव राखेका थिए ।

समूहका अध्यक्ष काबुलबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समिति संयोजक केशवप्रसाद दाहालले स्वागत गरेका थिए । कार्यक्रम समूहका सह–सचिव रमेश दाहालले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्