खुल्यो रहस्य नेइमार हिजोको खेल जितेपछि मैदानमै भक्कानिएर रुनुको

विश्वकप फुटबल अन्तर्गत शुक्रबार बेलुका समूह ई मा रहेको ब्राजिलले इन्जुरी समयमा दुई गोल गर्दै कोस्टारिकालाई हरायो र महत्वपूर्ण तीन अंक जोड्यो ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलका लागि यो जित अघिल्लो चरण पुग्ने यात्रामा निकै महत्वपूर्ण बन्नेछ । दुवै गोल इन्जुरी समयमा भयो । फिलिप कोन्टिन्होले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे ।

नेइमारले खेल सकिन केही सेकेण्ड बाँकी हुँदा अर्थात इन्जुरी समयको सातौँ मिनेटमा गोल गरे । त्यो गोलपछि ब्राजिलियन टिम र फ्यान सबै उत्साहित भए । नेइमार भने गोलपछि केहीबेरमा रुसको त्यो मैदानमा घुँडा टेकेर बसे ।

अनि मुख छोपेर रोए । उनले आफ्नो भावनालाई रोक्न सकेनन् । सबैतिर उनको गोल भन्दा पनि त्यो आँसुको कुरा भइरहेको छ । कतिले किन रोएको भनेका छन् भने कतिले उनलाई साथ दिएका छन् ।

खेलपछि नेइमारले इन्स्टाग्राममा भावनात्मक पोस्ट गर्दै रुनुको कारण खोलेका छन् । आफू रुनुको कारण खुशी रहेको उनले उल्लेख गरेका छन् ।

उनले भने, ‘सबैलाई थाहा छैन म यहाँसम्म आइपुग्नका लागि मैले के के सहेको छु… त्यो आँसु खुशीको थियो, काटेर आएको समयबाट बाहिर निस्कनु थियो र जितका लागि थियो ।’

पुरानो समाचार खोज्नुहोस्