रात भरिको अविरल बर्षाले वस्ती डुवानमा, बाटो, कल्भर्टमा क्षति

 मातृका पौडेल ,पथरीशनिश्चरे ९ असार /
गएरातीको घनघोर वर्षाका कारण मोरङ र झापाका होचो भूभागका वस्ती डुवानमा परेका छन् । सडक तथा कल्भर्टमा बाढीले क्षति पुर्याएको छ ।


झापाको दमक तथा जिल्लाको दक्षिणी क्षेत्र डुवानमा परेको छ । मोरङको पथरीशनिश्चरे, उर्लावारी लगायतका क्षेत्र पनि उसैगरी डुवानमा परेका छन् ।


पथरीशनिश्चरे १ मन्दिरलाईन पूर्व दक्षिणको भाग डुवानमा परेको छ । वडा नम्वर २ को वुद्धचोक दक्षिण छयालिसविघे क्षेत्रको १ किलोमिटर सडक क्षेत्रमै बाढी वगिरहेकोले यातायातमा समस्या भएको छ । छयालिसविघे पूर्व नयाँ स्वास्थ्य चौकी भवन उत्तरको नयाँ सडक ग्राभेल वगाउनुका साथै सडक क्षेत्र नै भत्काएर पानीको भंगालो वगिरहेको वडाध्यक्ष यामप्रसाद गुरागाईंले वताउनु भएको छ ।


गत वर्ष कल्भर्ट वगाएपछि यस वर्ष १२ लाख रुपैयाँ वढीमा बनाइएको छयालिसविघे कल्भर्टको पूर्वी भागबाट कटान गरेर खाल्डो वनाई आवतजावत अवरुद्ध बनेको गुरागाईंले जनाउनु भएको छ । वडा नम्वर १० को जिरिखिम्तीमा कल्पना श्रेष्ठको किराना पसल डुवानमा परेको छ । त्यसभन्दा पश्चिममा रहेको पूर्वपश्चिम मुख्य सडकबाट दक्षिण पानी कट्ने कल्भर्ट पेट्रोलपम्प वनाउने पक्षले पुरेपछि सुनील दहाल लगायतका घरहरु समेत डुवान भएको वडा सदस्य अनोज घिमिरेले जनाउनु भएको छ । त्यहाँ एस्काभेटर लगाएर पानी खोल्ने काम भएको छ ।


वडा नम्वर ९ सहितका अन्य वडाहरु पनि डुवानमा परेको स्थानीय वडाध्यक्षहरुले जनाउनु भयो । ९ नम्वरको महेन्द्रचोक नजिकको तित्रीगाछी कल्भर्टको दुवैतर्फको छेउ कटान भएर कल्भर्ट टापुमा परिणत भएको वडाध्यक्ष भानुभक्त राईले जनाउनु भयो । ४ नम्वर वडामा पनि कल्भर्टमा केही क्षति पुर्याएको वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले उल्लेख गर्नुभयो । वडा नम्वर ३ का साथै ५ र ६ को हसन्दहमा पनि डुवानको समस्या भएको छ । नगर प्रमुख दिलीपकुमार राई, वडाध्यक्षहरुको टोलीले आज विहान डुवान र कटान क्षेत्रको अवलोकन गरेको छ ।

पुरानो समाचार खोज्नुहोस्