प्रधानमन्त्री ओली भन्छन् : हामीले छिमेकीहरुसँग सम्वन्ध सुधारेका छौं

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरुसँगको सम्बन्ध सुधार भएको बताउनुभएको छ । चीन भ्रमणबारे प्रतिनिधिसभालाई मंगलबार जानकारी गराउँदै उहाँले भारत र चीन दुबै छिमेकीसँग सम्बन्ध सुधारेर विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण बनाउन सरकार सफल भएको बताउनुभएको हो ।

‘हामीले छिमेकीहरुसँग सम्वन्ध सुधारेका छौं । दुवै छिमेकीसँग विश्वासको वातावरण निर्माण गर्न, समझदारी र सहकार्यको वातावरण गर्न सफलता प्राप्त गरेका छौं’ प्रधानमन्त्रीले भन्नुभयो,‘ क्षणिक हिसावले कुनै प्रकारणको कार्ड खेल्ने, एकका बिरुद्ध अर्को उचाल्ने, तत्कालिन हितका निम्ति गैरजिम्मेवार हुने जस्ता काम हामीबाट हुँदैनन् ।’

भारत र चीन दुबैसँग लगानी र विकासका लागि बिश्वासयोग्य, भरपर्दो सहयोग र सहकार्यको वातावरण निर्माण भएको उहाँले बताउनुभयो । आफूले छिमेकीहरुका जायज चिन्ता, चासो र सरोकारलाई बुझेको भन्दै तीनलाई सम्वोधन गर्दै नेपालको विकासमा दुबै छिमेकीलाई साझेदार बनाउने उहाँले बताउनुभयो ।

‘कतिपयले भित्र के हो, कसो हो वा बाहिर के कति हो ? के भयो भन्ने गरेका छन्’ प्रधानमन्त्रीले भन्नुभयो,‘हामी भित्र एउटा वा बाहिर अर्को गर्दैनौं ।’दुई छिमेकीहरुबीचका समझदारी र सहकार्य विकास गर्न नेपालको योगदान सकारात्मक रहेको उहाँले बताउनुभयो । ‘हामी यता ढल्कने वा उता ढल्कने होइन ।

पारस्परिक लाभ, सम्मान र स्वभिमानका आाधारमा, न्यायोचित हित र अन्तराष्ट्रिय दायित्व लिएर अन्तराष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौ । हामी शान्ति र समझदारीको पक्षमा छौं, तनावको पक्षमा छैनौं ।’

पुरानो समाचार खोज्नुहोस्