मुग्लिनको पहिरोले काठमाडाैंमा नाकाबन्दी

मंगलबार बिहान मुग्लिन सडकखण्डअन्तरगत कालीखोला र तीनकिलोबीचमा सिंगै डाँडा खस्यो । संयोग नै मान्नुपर्छ, बिहान सबैरैको समय भएकाले त्यसमा कुनै धनजनको क्षती भएन। तर, पहिरो गएको आठ घण्टा बित्दा पनि सरकारले बाटो खुलाउन सकेको छैन । यद्यपि, प्रयास जारी रहेको बताइएको छ। यति लामो समयसम्म सो सडक अवरुद्ध हुँदा काठमाडौंमा एक किसिमको नाकाबन्दीजस्तो भएको छ ।

मंगलबार पूरै डाँडै खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको हो । सडकखण्डको कालीखोला र तीनकिलोको बीचमा रहेको तोपखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो बिहान करिब ४ बजे खसे पनि पन्छाउने काम भने करिब ७ बजेपछि मात्रै शुरु भएकाे थियाे । पूरै डाँडो खसेकाले पहिरो पन्छाउन दिनभरजसो लाग्नसक्ने प्रहरीको अनुमान छ ।

सडकअवरुद्ध भएसँगै सयौं सवारी र हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् । जाममा परेका गाडीको लाइन दुवैतर्फ गर्दा करिब ३० किलोमिटर टाढासम्म पुगेको छ । पहिरो पन्छाउन दिनभरजसो लाग्ने देखिएपछि थकित यात्रु निराश देखिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय-समयमा खस्ने पहिरोका कारण जोखिमपूर्ण छ । यस सडकखण्डमा दिनहुँजसो पहिरो खस्ने गरेको छ ।

पुरानो समाचार खोज्नुहोस्