अब घरको नक्सा पास गर्न शौचालय अनिबार्य चाहिने

१३ असार / मोरङको बेलवारी नगरपालिकाले शौचालय नभएको घरको नक्सा पास नगर्ने भएको छ । नयाँ घर बनाउदा सुरुमै शौचालयसहितको नक्सा बनाउनु पर्ने नियम नगरपालिकाले नगरपरिषदबाटै पास गराएको छ ।

घरमा शौचालय बनाएपछि मात्रै घरको नक्सा पास गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालले बताउनुभयो । बेलबारी नगरपालिकालाई गत आईतबार खुल्ला दिशामुक्त घोषणा गरिएको थियो । १२ हजार ८ सय ९२ घरधुरीमा शौचालय निर्माण भएपछि खुल्ला दिशामुक्त नगर घोषणा गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले जानकारी दिनुभयो ।

निर्माणधिन अवस्थामा रहेका घर तथा भविष्यमा निर्माण हुने घरमा शौचालय निर्माण भएको नपाईए नगरले दिने सेवासुबिधा समेत रोक्ने नगरपालिका कार्यालयले जनाएको छ । शौचालयको फोटो खिचेर ल्याएमात्रै घरको नक्सा पास गरिने नगर प्रमुख सुबेदीले बताउनुभयो ।

शौचालय निर्माणसँगै नगरपलिकाले हरित नगरी बनाउने उदेश्यकासाथ नगरपालिका भित्र कालोपत्रे गरिसकिएको सडकको किनारमा अनिबार्य रुपमा बिरुवा रोप्नु पर्ने जनाएको छ । नयाँ बनाएका घरमा समेत नगरपालिकाले दुईवटा बिरुवा अनिवार्य रुपमा रोप्नु पर्ने निति समेत ल्याएको छ ।

पुरानो समाचार खोज्नुहोस्