नाइजेरियालाई जितपछि मेस्सीले दिए यस्तो प्रतिक्रिया

१३ असार – समूह चरणबाटै बाहिरिने संघारमा रहेको अर्जेन्टिना नाटकीय जितसहित विश्वकपको अन्तिम १६ मा पुगेपछि कप्तान लियोनल मेस्सीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

बराबरीले पनि प्रतियोगिताबाट बाहिरिने स्थितीमा मेस्सी र मार्कोस रोजाको गोलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको थियो ।

खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले जितसँगै ठूलो राहात मिलेको बताएका छन् ।

‘एकदमै अप्ठारो परिस्थिती थियो, हामीलाई निकै पीडा भयो,’ मेस्सीले भने, ‘जितसँगै हामीलाई ठूलो राहात मिलेको छ । जित्नैपर्ने परिस्थितीका कारण यो खेल चुनौतीपूर्ण हुने हामीलाई थाहा थियो । हामी अघिल्लो चरणमा पुग्नेमा विश्वस्त थियौं तर हामीले खेलमा सोचेको भन्दा धेरै पीडा भोग्नुपर्यो । भाग्यवश हामी हाम्रो लक्ष्यमा पुग्न सफल रह्यौं ।’

मेस्सीका लागि पनि यो खेल महत्वपूर्ण थियो । अघिल्लो दुई खेलमा गोल गर्न नसकेका उनले १४ औं मिनेटमा आफ्नो क्षमता देखाउँदै सुन्दर गोल गरेका थिए ।

प्रशिक्षक जर्ज साम्पोलीले स्टार खेलाडी मेस्सीको प्रदर्शनको प्रशंशा गरेका छन् ।

साम्पोलीले भने, ‘यो जित मेस्सीका लागि धेरै महत्वपूर्ण छ । उनी एउटा त्यस्तो मान्छे हो, जसले अर्जेन्टिनालाई महसुस गरेको छ, रोएको छ, पीडाहरु भोगेको छ, जो अर्जेन्टिना जित्दा सबैभन्दा बढी खुशी हुन्छ । म मेस्सीलाई राम्रोसँग चिन्छु । मैले उनलाई हास्दा, निराश हुँदा, संकटमा हुँदा र राम्रा क्षणहरुमा देखेको छु ।’

पुरानो समाचार खोज्नुहोस्