दार्चुला जिल्लाबाट तीस किलो यार्सागुम्बा निकासी

यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ।

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए।

प्रति निकासी पूर्जीको रु २५ हजारका दरले रु ७ लाख ५० हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए। दार्चुलाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत, हङकङ, अमेरिका, सिङ्गापुरलगायतका देशमा निर्यात गरिन्छ।

अपिनाम्पा संरक्षण कार्यालयबाट हरेक वर्ष व्यवसायीले वैधानिक रुपमा निकासी पूर्जी लिने गरे तापनि अवैधानिक रुपमा सयौँ किलोग्राम बराबरको यार्सागुम्बा निकासी हुने गरेको छ। त्यसबाट संकलन हुने लाखौँ राजस्व छली हुँदै आएको अधिकांश सरोकारवालाको भनाइ छ।

प्रदेश नम्बर ७ का दुई पहाडी जिल्ला दार्चुला र बझाङका उच्च हिमाली भेगबाट वर्षेनि ठूलो परिमाणमा यार्सागुम्बा सङ्कलन हुने गरेको छ। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई यस वर्ष ८२० किलोग्राम यार्सागुम्बा निकासी गर्ने गरी विभागले कार्ययोजना स्वीकृत गराएको छ। गतवर्ष निर्धारण गरिएको लक्ष्यभन्दा बढी यार्सागुम्बा उत्पादन भए पछि यस वर्ष निकासी दर बढाएको हो।

गतवर्ष अपिनाम्पा संरक्षण क्षेत्रले रु ३७ लाख ५० हजार रुपैयाँ राजस्व गुमाएको थियो। दार्चुलामा यस वर्षको हालसम्ममा चार क्विन्टल ५० किलो यार्सागुम्बा संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ।

पुरानो समाचार खोज्नुहोस्