काठमाडौंको सडकमा खाल्डाखाल्डी देख्न नपरोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी तत्काल पुर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् ।

 

उनले बुधबार सम्बन्धित मन्त्री, सचिव, सडक र यातायात विभागका महानिर्देशकलाई कार्यालयमै डाकेर निर्देशन दिदै भने सडकमा खाल्डाखुल्डी देख्न नपरोस् जसरीहुन्छ तत्काल सुधारका लागि बढ्नुहोस्।

ओलीले कलंकी–थानकोट, चाबहिल–बौद्ध–जोरपाटी सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न, मुलुकभरका सबै सडक, ढल तथा अन्य पूर्वाधार निर्माण गर्दा आधुनिक, प्रविधिमैत्री र गुणस्तरीय बनाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ओलीले यातायात क्षेत्रको सिन्डिकेट पूर्ण रूपमा अन्त्य गर्न बस व्यवसायी समितिलाई कम्पनीमा रूपान्तरण गर्नेलगायत आवश्यक कार्य तत्कालै सम्पन्न गर्नसमेत निर्देशन दिए । उनले सार्वजनिक यातायात भरपर्दो, सेवाग्राहीमैत्री तथा प्रविधिमैत्री बनाई ज्येष्ठ नागरिक, महिला, अशक्तलगायतलाई प्रदान गरिने आरक्षण सुविधाको उपभोग सहज बनाउन आग्रह गरे ।

प्रत्युत्तरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कलंकी–थानकोट, चाबहिल–बौद्ध–जोरपाटी र उपत्यकाका अन्य सडकका खाल्डाखुल्डी ५० दिनभित्र सर्वसाधारणलाई महसुस हुने गरी व्यवस्थापन गर्ने कार्ययोजनाअनुसार काम भइरहेको बताए । उनले सार्वजनिक यातायातमा सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको उल्लेख गर्दै कुनै पनि रूपमा यसको पुनरागमन नहुने दाबी गरे ।

मन्त्री महासेठले सार्वजनिक यातायातलाई व्यवस्थित कम्पनीमा रूपान्तरण गर्नेलगायत तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनसम्बन्धी काम भइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्