संस्कृत विश्वविद्यालयका पदाधिकारी भन्छन् ,उपकुलपतिको भ्रमण नै नीतिगत थिएन

असार २७, २०७५ नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जाने क्रममा भएको घटनाक्रमले अहिले विश्वविद्यालय तातेको छ । क्यानडा जाने क्रममा कोइरालालाई शनिबार विमानस्थलबाटै फिर्ता गरिएको थियो ।

विमानस्थलबाट अपहरणको शैलीमा प्रहरीले नियन्त्रणमा लिई प्रधानमन्त्री कार्यालयमा राखेको भन्दै कोइरालाले यसप्रति आपत्ति प्रकट गर्नुभएको छ । विश्वविद्यालयका बाँकी पदाधिकारीले भने भ्रमण नीतिगत नभएको गुनाशो गरेका छन् । शिक्षाध्यक्ष रमेशप्रसाद ढकालले आज घोराहीमा पत्रकार सम्मेलन गरी कोइराला नीति नियम विपरित अटेर गरेर बिदेश भ्रमणमा जान खोज्दा विश्वविद्यालयको नै बदनाम् भएको बताउनुभएको छ ।

उपकुलपति राजनीतिकरुपमा विवाद्मा आउनु, नीति नियमबाहिर रहेर काम गर्न खोज्नु र कुलपतिबिरुद्ध जथाभावी बोल्नु जस्ता कारणले विश्वविद्यालयको शिर झुकाएको ढकालले बताउनुुभयो । उपकुलपति कोइरालाले बिधि अनुसार काम गर्न नखोज्दा बिभिन्न नकारात्मक परिणामहरु देखापरेको उहाँले दावी गर्नुभयो ।

विश्वविद्यालयको ऐन नियममा रहेर काम गर्न पटकपटक सुझाउँदा पनि उनले मनोमानीढंगले काम गर्न खोजेको ढकालको आरोप छ । नेपाल संस्कृत विश्वविद्यालय आर्थिक प्रशासन सम्बन्धी नियम २०६७ को परिच्छेद २१ को नियम ९४ को उपनियम ४ ‘ज’ मा विदेश भ्रमण गर्नुपरेमा उपकुलपतिले कुलपतिबाट पूर्व स्विकृती लिनुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो ।

नियम अनुसार कुलपतिबाट स्विकृती लिनुको साटो शिक्षा मन्त्रालयमा चिठी छोडेर बिदेश जान खोज्नु प्राज्ञिक काम नभएको ढकालको आरोप छ । संस्कृत सम्मेलनमा सहभागी हुन बिदेश गएका व्यक्तीहरु संस्कृत बिषयका बिज्ञहरु एक जना पनि नभएको र उनीहरुलाई पठाउनेबारे कार्यकारी परिषद्बाट निर्णय पनि नभएको ढकालले बताउनुभयो ।

उपकुलपति कोइरालाले क्यानडा भ्रमणमा सबै बाल्मिकी बिद्यापीठ काठमाण्डौका मात्रै प्राध्यापकलाई लिएको र उनीहरु सबै गैरसंस्कृत बिषयका रहेको उहाँले बताउनुभयो । भ्रमणमा गएका अनुसन्धान केन्द्रका निर्देशक काशिनाथ न्यौपाने बौद्ध दर्शन, बाल्मिकी बिद्यापीठका प्राचार्य गणेशप्रसाद घिमिरे नेपाली, प्राध्यापक संघका अध्यक्ष नवराज कट्टेल नेपाली, सहप्राध्यापक लेखप्रसाद निरौला नेपाली, उपप्राध्यापक प्रेमराज न्यौपाने बौद्धदर्शन र उपप्राध्यापक केशव कोइराला तन्त्र बिषयका रहेको ढकालले जानकारी दिनुभयो ।

विश्वविद्यालयका कूलसचिव कात्तिकेय झाँले पनि उपकुलपतिले प्रक्रिया नपुर्‍याएर विदेश भ्रमण गर्न खोजेको बताउनुभयो । कार्यकारी परिषद्मा निर्णय नगरी र सरकारी प्रक्रिया नपुर्‍याएर बिदेश जान खोज्दा विश्वविद्यालय नै अनाबश्यक विवाद्मा तानिएको उहाँले बताउनुभयो । उपकूलपति कोइरालाले भने सबै प्रक्रिया पुर्‍याएर नीतिगतरुपमै काम गरेको दावी गर्नुभएको छ कार्यकारी परिषद्बाट तीन जना पदाधिकारी र अन्य प्राध्यापक कर्मचारी गरी सातदेखि नौ जनासम्म क्यानडा जाने निर्णय भएको उहाँले बताउनुभयो ।

केहीको भिसा नलागेपछि अन्त्यमा सम्भव भएका प्राध्यापकलाई लिएर जान खोज्दा विमानस्थलमा दुव्र्यवहार भएको उहाँले गुनाशो गर्नुभयो । कुनै कमजोरी नै गरेको भए पनि प्रधानमन्त्रीले प्रक्रिया पुर्‍याएर आबश्यक कार्वाही गर्न सक्ने अबस्था हुँदाहुँदै अपराधिलाई झैं प्रहरी लगाएर नियन्त्रणमा लिंदा प्राज्ञिक क्षेत्रको मानमर्दन भएको महशुस गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्