राजनीतिक स्थिरता ध्वस्त पार्न खोज्दैछन् : दाहाल

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा फेरि अस्थिरता र अराजकता कायम गर्न खोज्ने तत्व सल्बलाएको दाबी गरेका छन् । चितवन–३ बाट प्रतिनिधि सभा निर्वाचित दाहालले शुक्रबार बिहान आफ्नो निर्वाचन क्षेत्र भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै देश विदेशका पुँजीवादी शक्तिहरु नेकपाको पार्टी एकताबाट आत्तिएको बताए ।

‘पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा देशहरुका पुँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भनेका बेला नेपालमा कम्युनिष्ट एकतामार्फत दुई तिहाईको स्थितीमा आयौं,’ दाहालले भने, ‘यसलाई अब के कसरी कमजोर पार्ने भनेर देश विदेशमा षडयन्त्र सुरु भएको छ।’

नेपालमा हाम्रो यो खालको उदय पुँजीपतिहरुका लागि आश्चर्य भएको भन्दै उनले ७० वर्षपछि पैदा भएको राजनीतिक स्थायित्वको परिस्थितीलाई बिगार्न र त्यसलाई ध्वस्त गर्न खोजेको उनले बताए। ‘उनीहरु निकै घबराएका छन्। के गरेर कमजोर पार्ने भनेर अनेकौं खालका कसरत सुरु भएका छन्।’ दाहालले भने, ‘कहिले के नाममा, कहिले कुनै घटनालाई उचालेर देशमा अस्थिरता पैदा गर्न खोजिदैछ।’

सरकारले गर्न खोजेका सकारात्मक कामहरुमा व्यवधान खडा गर्न खोज्ने बितण्डाहरु विस्तारै देखिन थालेकोले यसका बिरुद्ध कम्युनिष्ट पार्टी देशव्यापी अभियानमा लाग्ने उनले बताए।

‘अब साउनभित्र एकताका सबै प्रक्रिया टुङ्ग्याउने छौं। प्रदेश, जिल्ला, स्थानीय तहसम्मका कमिटिहरु एकीकृत हुनेछन्। भदौं र असोजमा हामी देशव्यापी अभियानमा लाग्ने छौं,’ दाहालले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्