जो मनको आँखाले जगत्लाई हेर्छन्…

नीरज गौतम

नेपालगञ्ज। न्यून दृष्टियुक्त व्यक्तिसँग मनको चम्किलो आँखा हुन्छ, तिनले मनको चम्किलो आँखाले पनि जगत् हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन्।

नेपालगञ्जका न्यून दृष्टियुक्त विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ। आफू न्यून दृष्टियुक्त भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगत्लाई अहिले राम्ररी अनुभूति गरिरहेका छन्।

ब्रेललिपि छामेर र सुनेर आफ्नाे अध्यापनलाई अघि बढाइरहेका विष्णुजस्तै ४० जनाभन्दा बढी न्यून दृष्टियुक्त बालबालिका र किशोरकिशोरी नेपालगञ्जस्थित मंगलप्रसाद माविमा अध्ययन गर्दै आइरहेका छन्।

मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्यसभन्दा अझ धेरै मनको आँखा प्रकाशवान् हुन्छ, अनि प्रभावकारी पनि हुन्छ। बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर दिइयो र मनग्य माया गरियो भने बाहिरी आँखाले देख्नेसरह उनीहरु पनि सबल र सक्षम हुन सक्छन्।

यसको उदाहरण हुन् न्यून दृष्टियुक्त भोला त्रिपाठी। त्यही मंगल विद्यालयमा अध्ययन गरेर आफूजस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई पढाउने जिम्मेवारी भोलाको काँधमा छ। उच्च तहसम्मको अध्ययन पूरा गर्नु भएका भोला मंगल माविमा शिक्षकको भूमिकामा हुनुहुन्छ । मंगल माविमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले पनि लिएको छ

न्यून दृष्टियुक्त व्यक्तिलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने र उनीहरुको अधिकारका लागि संघर्ष गर्दै आएको बाँके नेत्रहीन संघका अध्यक्ष कन्हैयालाल राना भन्छन, “संघले विभिन्न निकायसँगको सहकार्यमा न्यून दृष्टियुक्त भएका व्यक्तिको जीवनलाई सहज र सरल बनाउने सबैखाले भूमिका निर्वाह गर्दै आएको छ।”

मंगलप्रसाद माविमा अध्ययनरत न्यून दृष्टियुक्त व्यक्तिको अध्ययन निःशुल्क हुने गरेको छ। त्यसको चाँजोपाँजो संघीय शिक्षा एकाइ कार्यालय, बाँकेले मिलाएको छ। न्यून दृष्टियुक्त व्यक्तिका लागि राज्यका तर्पmबाट निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालीम, रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यून दृष्टियुक्त व्यक्तिलाई आप्mनो जीवन सहज ढंगबाट अगाडि बढाउन अवसर मिलेको छ

मंगल माविमा न्यून दृष्टियुक्त व्यक्तिका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेसँग राखेर पढाउने गरिएको छ। ‘‘यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौ भन्ने भावनाको विकास गराउनु नै हो’’, शिक्षक त्रिपाठीको भनाइ छ।

‘बाहिरी आँखाले नदेखे पनि न्यून दृष्टियुक्त व्यक्तिसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरु अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाँका न्यून दृष्टियुक्त व्यक्तिहरु शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् उनीहरुलाई क्षमतानुसारको रोजगारी दिनुपर्छ। ‘‘अवसर पाए न्यून दृष्टियुक्त व्यक्तिले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्’’, अर्का न्यून दृष्टियुक्त शिक्षक भावुकजंग थापाको ठम्याइ छ

एक अर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाई राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट र संकल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रताजस्ता कारणले पनि समाजमा न्यून दृष्टियुक्त व्यक्तिको उचाइ बढ्दै गएको शिक्षक थापा बताउँछन्। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्